प्रेममा मौनता।।।। सुबिन भट्टराई……



सुबिन दाईको कथा ।।।



आँखाहरूलाई डुलाए, मुटुहरू जुधाए । दुई अलग मान्छे, मान्छेबाट आफैँलाई प्रेमी बनाए । प्रेमिका बनाए ।
आजकाल जति सजिलो प्रेम हुन हुन्छ, त्यति गाह्रो प्रेम टिक्न हुन्छ । युवायुवती सुरु–सुरुमा प्रेमलाई नशाजत्तिकै बनाउँछन्, अनि पछिपछि त्यै प्रेम दशा भो भनी चिच्याउँछन् ।
अत: म भन्दै थिएँ, दुई नर–नारी प्रेमी र प्रेमिका भए । सुरु–सुरुमा के हुन्छ भने प्रेमले भोकाएपछि खान पाएको मीठो खानेकुराको पहिलो गाँसजत्तिकै आनन्द दिन्छ ।
प्रेमीलाई प्रेमिकाले जे बोले पनि ठीक लाग्छ र प्रेमिकालाई पनि त्यस्तै ।
बिस्तारै उनीहरूलाई प्रेम अघाएको मानिसलाई चिनी तीतो लागेझैँ लाग्न थाल्छ । पहिले–पहिले संवाद हुन्थ्यो, अब विवाद हुन थाल्छ ।
ल यहाँसम्म ठीक छ । दुई अलग मान्छेको सोच एउटै कहाँ हुन्छ ? एउटै गति, एउटै दिशामा फरक–फरक मान्छे हिँड्न कहाँ सक्छ ? यदि त्यस्तो हो भने संसारमा विविधता खोइ ? प्रत्येक मान्छे अर्को मान्छेबाट अलग छ, भिन्न छ र यहि नै प्रकृतीको नियम हो र, यही जरुरी पनि छ ।
तर बेठीक तब हुन थाल्छ, जब उनीहरूबीच न त संवाद हुन्छ, न विवाद नै हुन्छ । विवादसम्म हुनु भनेको स्वस्थ सम्बन्धको गुण हो । संवाद हुनेहरूबीच विवाद भैरहन्छ, कुनै नराम्रो र नौलो कुरो होइन तर विवाद पनि हुन छाड्छ अर्थात् सम्बन्धमा मौनता छाउन थाल्छ भने बुझे हुन्छ त्यो सम्बन्ध एउटा क्रोनिक रोगले आक्रान्त भयो ।
मौनता, जो देखिन्न, जो सुनिन्न, तर जो एकदमै ज्यादा भोगिन्छ त्यसैले बढी दुखाउँछ । मौनता, जहाँ शब्द र संवाद पनि निभेको हुन्छ, त्यसैले बढी जलाउँछ । मौनता, जो कुनै शान्त तलाउझैँ स्थिर छ, त्यसैले बढी गलाउँछ ।
अनि समस्या— मौनता तोड्ने पहलमा मान्छेलाई आफ्नो इगोले नै दिँदैन । मान्छेले आफ्नो इगोलाई पोसेर यति ठूलो बनाएको हुन्छ कि आफू सानो बन्नै सक्दैन । मान्छेले आफैँलाई यति कडा बनाएको हुन्छ कि झुक्नै सक्दैन ।
मौनता । हो नै के र ? शब्दहीन हुनु, खाली हुनु, रित्तिनु, तर रित्ता चीजहरू नै धेरै हानिकारक हुन्छन् । किनभने त्यहाँ जे पनि भरिन सक्छ । जस्तोसुकै कुराका लागि पनि ठाउँ रहन्छ । अमृत पनि त्यहीँ भरिन सक्छ, विष पनि त्यहीँ भरिन सक्छ ।
यसरी प्रेम मीठो संवाद, अनि संवादबाट विवाद अनि विवादबाट घात, प्रतिघात अनि बरबादमा परिणत हुन्छ ।
प्रेम बजारबाट उठाएर ल्याएको कपडाजस्तो होइन, जो मैलिन्छ, धोयो, खोल्यो, फेर्‍यो । अन्त्यमा थोत्रिन्छ अनि मिल्कायो । प्रेम एकपटक हुन्छ । जुनीभरि टिकाउनु छ । दुई जनाले मिलेर । प्रेम, एउटा यात्रा न हो, तराजुमा जोखेजस्तै, कहिले एकातिरको पल्ला भारी हुन्छ, कहिले अर्कातिरको । सन्तुलन मिलाउन जान्नुपर्छ । एउटा पक्ष आगो हुँदा अर्को पानी हुन जान्नुपर्छ ।
हामीले पर्खिरहेको मान्छे चिताएकै बाटोबाट आउँछ भन्ने छैन । बदाम छोडाएर गुदी निकालेजस्तो होइन, भ्रम ताछ्नलाई गाह्रो हुन्छ । जेजस्तो भए पनि शब्दहरूमा आधार त हुन्छ, तर मौनता ? यसमा केवल धार हुन्छ । यसले रेट्छ, दुखाउँछ, छट्पटाउँछ । त्यसो त नबोलेरै, मौन भएर पनि प्रेम गर्न सकिन्छ । आँखै आँखाले तर त्यस्तो प्रेम संवाद अघिलाई ठीक छ । संवाद र विवादपछि मौनता प्रेमका लागि सर्वथा हानिकारक छ ।
सुबिन भट्टराई
प्रकासित :कान्तिपुर साप्ताहिक
तस्बिर :गुगल

Comments

Popular posts from this blog

मेरो प्रेमकहानीको मुख्य पात्र जो मेरो कहानीमा त थिई, तर म उसकोमा कहिल्यै हुन सकिन।। अन्तिम भाग………

गजल ।।

गजल।।